लुइस इङ्गलिस स्कूलको स्वर्ण जयन्तीको अवसरमा लुइस इङ्लिस स्कूल एल्म्युनाइ एसोसिएशनले 24 सेप्टेम्बर, बुधबार गोल्डेन जुबली रन आयोजना गऱ्यो। मिरिकको प्रतिष्ठित लुइस इङ्लिस स्कूलको 50औँ वर्षगाँठ पुरा भएको अवसरमा 25, 26 र 27 सेप्टेम्बरको दिन तीन दिवसीय कार्यक्रम गरेर स्वर्ण जयन्ती समारोहको समापन भइरहेछ।
यसैबीच पूर्वा होमस्टे, द पलाज र गोप्लाईको प्रायोजना तथा मिरिक रनर्स इनिसिएटिभ र GEA फिजिकल एकाडेमीको सहयोगमा लुइस इङ्लिस स्कूल एल्म्युनाई एसोसिएशनले मिरिक क्षेत्रका विभिन्न स्कूलहरूलाई समेटेर इन्टर स्कूल गोल्डेन जुबली रन आयोजना गरेको थियो। बिहान 7 बजी मिरिक बस स्ट्याण्डबाट शुरू भएको म्याराथनलाई स्कूलका निदेशक लियोनार्ड सुब्बाले झण्डा देखाएर प्रस्थान गराएका थिए। म्याराथनमा मिरिकलगायत संलग्न क्षेत्रका 17 वटा स्कूलहरूले भाग लिएका थिए भने म्याराथनमा 195 जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। यसरी नै 50 जना भेटेरन र फन रनर्सहरूले पनि भाग लिएका थिए। म्याराथनमा सेती खोला र मिरिक बाइपासमा दुई हाइड्रेशन पोइन्टहरू थिए। धावकहरू कृष्णनगर, आले, फायर ब्रिगेड, बाइपास मोड, बौदी होटल हुँदै अगाडि बढेको थियो भने स्कूलको गेटमा पुगेर दौड सम्पन्न भएको थियो।
म्याराथनमा पुरुष वर्गबाट सुरज तामाङ प्रथम, अवङ्कित राई दोस्रो र धरम तामाङ तेस्रो भए भने महिला वर्गमा अनुश्री राई पहिलो, निलिमा तामङ दोस्रो र सोनिया थामी तेस्रो भए। यसरी नै भेटरेन वर्गमा लक्ष्मण राई पहिलो, रवी राई दोस्रो, समीर लामा तेस्रो भए।
म्याराथनमा विजेतालाई ट्रफी, पुरुष र महिला वर्गबाट दस शीर्ष धावकहरूलाई पदक प्रदान गरियो भने सबै सहभागीहरूलाई प्रमाणपत्र दिइयो। सचित थापा अनि टिमले निर्णायकको भूमिका निभाएको कार्यक्रमलाई मिरिक हाई स्कूलका सहशिक्षक सुरेश तामाङले सञ्चालन गरेका थिए।
यसैबीच स्कूलका निदेशक लियोनार्ड सुब्बाले कार्यक्रम सफल बनाएकोमा लुइस इङ्लिस स्कूल एल्म्युनाई एसोसिएशन र सहभागीहरूलाई धन्यवाद दिए।
लुइस इङ्लिस स्कूल एल्म्युनाई एसोसिएशनका सेक्रेटरी किरण सुब्बा र म्याराथनका संयोजक दीपेन गुरुङले सबै सहभागीहरूलाई हार्दिक धन्यवाद र बधाई दिएका छन्। स्कूलको 50 वर्ष पूरा भएको अवसरमा पूर्व विद्यार्थी, विद्यार्थीहरू र समुदायलाई एकसाथ ल्याउन स्कूलले म्याराथनसहित विभिन्न कार्यक्रमहरू आयोजना गरेको उनीहरूले बताए।


Leave a Comment